शरीर अद्भूत छ । शरीरभित्र यस्तो संयन्त्र हुन्छ, जसले शरीरलाई सग्लो, निरोगी, तन्दुरुस्त राख्न हरक्षण प्रयास गरिरहेको हुन्छ । हामीलाई कुनै रोगव्याधि लाग्न नदिन, कुनै खराब संक्रमण हुन नदिन त्यो संयन्त्रले काम गरिरहेको हुन्छ ।
त्यसैले त कतिपय रोग लागेपनि आफै निको हुन्छ । न औषधि गर्नुपर्छ, न शल्यक्रिया गर्नुपर्छ ।
अर्थात शरीरभित्र डाक्टर हुन्छ, सेना हुन्छ । त्यसैले हाम्रो उपचार गर्छ, हामीलाई रक्षा गर्छ । तर, यति अनमोल शरीरलाई हामी बुझ्दैनौं । त्यसैले शरीर बिरुद्धको खानपान गरिरहेका हुन्छौं, आनीबानी अपनाइरहेका हुन्छौं ।
शरीरभित्र के भइरहेको छ ? हामी देख्दैनौं । त्यहाँ सबै अंगहरुले चुपचाप आ-आफ्नो काम गरिरहेको हुन्छ । काम पनि एकदमै जिम्मेवारीपूर्वक । शरीरको यो संयन्त्र र यसको विज्ञानलाई बुझ्ने हो भने हामी चकित हुन्छौं, ‘अहो मेरो शरीरले कति ठूलो काम गरिरहेको छ ।’
शरीरको कार्य प्रणाली
जस्तो रक्तसंचार प्रणालीले शरीरभर अक्सिजनलगायत पोषक तत्वलाई कोष-कोषसम्म पुर्याउँछ । शरीरमा भएको विजातिय पदार्थलाई शरीरबाट बाहिर निष्कासन गर्छ ।
श्वासप्रश्वास प्रणालीले अक्सिजनको आपूर्ति गर्ने र हरेक कोषमा पुर्याउने काम गरेको छ । त्यस्तै पाचन प्रणालीले खानालाई पचाउने र पोषक तत्त्वलाई अवशोषण गरेर शरीरमा पठाउँछ र शरीरलाई नचाहिने कुरालाई बाहिर निकाल्छ ।
यी विभिन्न प्रणाली जस्तै शरीरमा प्रतिरक्षा प्रणाली पनि छ जसले शरीरमा आन्तरिक वा बाह्य कारणबाट केही समस्या आयो भने शरीरलाई त्यसबाट जोगाउने र शरीरको रक्षा गर्ने काम गर्छ । प्रतिरक्षा प्रणालीमा सूचनालाई संग्रह गरेर राख्ने र निश्चित समयमा प्रयोग गर्ने पद्धति हुन्छ ।
ब्याक्टेरिया र फङ्गसबाट लाग्ने रोगहरूलाई निको पार्न विभिन्न औषधिहरू बनेका छन् । तर, भाइरस जन्य रोगहरूलाई निको पार्ने औषधि पाइँदैन । भाइरसजन्य रोगहरूबाट बच्नको लागि खोप लगाइन्छ । यस्तोमा भाइरसलाई कमजोर अवस्था वा प्रत्यक्ष रूपमा शरीरमा असर नगर्ने स्वरूपमा खोपको माध्यमबाट शरीरमा पठाइन्छ । त्यसलाई शरीरमा पठाएपछि शरीरको प्रतिरक्षा प्रणालीले त्यसको अध्ययन गर्छ, सूचना सङ्ग्रह गर्छ र आफूभित्र राख्छ । फेरी त्यो भाइरस आयो भने कसरी त्यसलाई नष्ट गर्ने प्रणाली विकास गर्छ ।
हामीले लगाउने सम्पूर्ण खोपहरू हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रशिक्षित गर्ने एउटा विधि हो । बाहिरको कीटाणुहरू कसरी हाम्रो शरीरमा कसरी प्रवेश गर्छन् र शरीरलाई कसरी असर गर्छ भन्ने कुरा हाम्रो प्रतिरक्षा प्रणालीलाई बताउने काम नै खोपले गर्छ । भोलीका दिनमा हाम्रो शरीरमा त्यही कीटाणु प्रवेश गरे त्यसलाई नष्ट गर्ने क्षमता विकास गर्छ ।
यो शरीरको विशिष्ट प्रकारको जैवयुद्ध कौशल हो । जसरी युद्धमा जित्नको लागि विभिन्न रणनीति बनाइन्छ । त्यसरी नै शरीरले विभिन्न रोगबाट बच्नको लागि रणनीति बनाउँछ र विभिन्न भाइरसबाट जोगाउँछ । तर, यदि त्यो भाइरसले स्वरूप बदलेर आयो भने त्यसले काम गर्दैन ।
कोरानाको खोपको कुरा गर्दा पनि भनिन्थ्यो यो खोप लगाउँदा कोरोनाबाट बच्न सकिन्छ । तर, म्युटेसन भयो भाइरसको स्वरूप बदलियो भने अर्को बुस्टर डोज लगाउनुपर्छ भनिन्छ नि । स्वरूप बदलिएपछि फेरी प्रतिरक्षा प्रणालीलाई सूचना चाहिन्छ ।
शरीरमा नचाहिने विजातीय पदार्थहरू बढ्यो र त्यसको कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने नै मानिसलाई विभिन्न रोगले गाँज्छ ।
प्रतिरक्षा प्रणालीले दीर्घ रोगबाट चाहिँ बचाउन सक्दैन ?
शरीरको रचना र यसको क्रिया विज्ञान, यो कसरी बनेको छ र यसले कसरी काम गर्छ भन्ने विषयमा धेरै अध्ययनहरू भएका छन् । तर पनि शरीरले कसरी काम गर्छ भन्ने धेरै कुरा रहस्य नै छ ।
पछिल्लो समय मान्छेलाई विभिन्न प्रकारको रोगहरूले सताइरहेको छ । विशेष गरी सर्ने र नसर्ने दुई प्रकारका रोगले मानिसहरूलाई बढी मात्रामा सताइरहेको छ । ठुलो जनसंख्या दम, प्रेसर मधुमेह, मुटु रोग र क्यान्सर जस्ता दीर्घ रोगहरूबाट ग्रसित भई रहेका छन् ।
अहिले एउटा भनाइ नै प्रचलित छ ‘होम टु होटेल, होटेल टु हस्पिटल’यसको मतलब जब हामी घरको जीवनपद्धति छोडेर होटेलको जीवनपद्धतिमा जान्छौं तब क्रमिक रूपमा हस्पिटलमा पुगिरहेका हुन्छौं ।
कोभिडको समयमा जस्तो यति मान्छे सङ्क्रमित भए, यतिले ज्यान गुमाए भनेर दैनिक जानकारी दिने हो भने दिर्घरोग लाग्ने र त्यसको कारण ज्यान गुमाउनेको संख्या झन् बढी होला ।
खानाको स्वाद बढाउन, रंगिन बनाउन र सुगन्धित बनाउन विभिन्न अखाद्य पदार्थहरूको प्रयोगले शरीरको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । वातावरण प्रदूषणले पनि हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइरहेको छ ।
एक सय देखी एक सय ५० वर्ष अघि स्वास्थ्यमा जति समस्याहरू थिए त्यो भन्दा कयौं गुण स्वास्थ्य समस्या अहिले भोग्नु परेको छ । सय वर्षअघि स्वास्थ्य विज्ञानमा जति विकास भएको थियो त्यो भन्दा ५ सय गुण बढी विकास अहिले भएको छ तर, रोगको दर भने घट्नुको साटो बढेको छ । रोगको भय झन् बढेको छ ।
अस्पताल, औषधिहरू निर्माण त भयो । अस्पताल, औषधि र चिकित्सक भएपछि त्यसलाई खरिद गर्ने पैसा जम्मा गर्न सक्यो भने स्वास्थ्य प्राप्त हुन्छ भन्ने सोच मान्छेमा छ । तर, यी सबै कुराको विकास हुँदा पनि मानव स्वास्थ्य ओरालो लाग्दै गएको छ ।
हरेक मान्छेले मेरो स्वास्थ्य राम्रो बनाउने पहिलो जिम्मेवारी मेरो हो र मेरो हातबाट नै त्यो सुरक्षित हुनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ । चिकित्सक, अस्पताल र औषधिको सहयोग पनि चाहिन्छ तर आकस्मिक अवस्थामा मात्र ।
प्रतिरक्षा प्रणालीलाई राम्रो बनाउने उपाय छ ?
शरीरको बनोट अनुसार दुई वटा कुरा सन्तुलन भयो भने हामी विभिन्न स्वास्थ्य समस्याबाट बच्न सक्छौं । शरीरलाई नचाहिने विजातीय पदार्थको निष्कासन र अवसरवादी कीटाणुबाट बचाउने प्रतिरक्षा प्रणालीको सबलता यी दुई कुरा राम्रो भयो भने स्वास्थ्य राम्रो हुन्छ ।
शरीरलाई सक्रिय रहनको लागि खानाको आवश्यकता पर्छ । हामीले खाएको खानालाई शरीरले चाहिने जति अवसोसित गर्छ र नचाहिने खाना मलको रूपमा निष्कासन गर्छ । शरीरलाई नचाहिने विजातीय पदार्थहरूको निष्कासनलाई हामीले राम्रो बनाउँछौं ‘डिटक्स’ गर्छौं भने राम्रो प्रतिरक्षा प्रणाली आफै राम्रो भएर जान्छ ।
प्रतिरक्षा प्रणाली कमजोर हुनु र विभिन्न रोगको जोखिम बढ्नुको मुख्य कारण कृत्रिम जीवनशैली हो । खानपान एकदमै धेरै परिवर्तन भएको छ आलि देखी थालीसम्म हाम्रो खानामा विष भरिएको छ ।
उत्पादन बढाउन, लामो समय भण्डारण गर्न, स्वाद बढाउन खानामा विभिन्न कृत्रिम रसायनहरूको प्रयोग भएको छ । जसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाएको छ । रङ्गीचङ्गी खानेकुरा र रङ्गीचङ्गी जीवन पद्धति अहिले सबैलाई मन पर्छ । तयारी खानेकुरा र प्याकेट बन्द खानेकुराले शरीरमा विजातीय पदार्थलाई बढाउँछ र शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ ।
यसलाई बलियो बनाउन खानपान शैली परिवर्तन गर्नुपर्छ । यदि खानपानलाई राम्रो बनाउने हो भने जैविक कृषि पद्धति आजको आवश्यकता हो ।
रोग प्रतिरोधी क्षमता विकास गर्न स्वास्थ्यकर प्राकृतिक खानपान, स्वास्थ्यकर चिन्तन शैली र व्यायामलाई सँगै लैजान सक्नुपर्छ । खानाको व्यवस्थापन, व्यायामको व्यवस्थापन र तनावको व्यवस्थापन गर्न सकियो भने प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।