जुम्ला – जुम्ला बहुमुखी क्याम्पसमा संकाय थप तथा शैक्षिक सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले समन्वय गरि जिल्लाका राजनीतिक दल स्थानीय तहका जनप्रतिनिधहरु र सरोकारवालाहरु सँग जुम्ला बहुमुखी क्यामपसमा संकाय थपको विषयमा छलफल गरिएको छ ।
क्याम्पसमा कानुन, सूचना प्रविधि (बीआइटी) र मानविकी संकाय थप गर्ने विषय छलफलको भएको छ । कार्यक्रममा जुम्लाका स्थानीय तहका प्रमुखहरूले उच्च शिक्षामा लगानी गर्न आफूहरू तयार रहेको स्पष्ट सन्देश दिएका छन् ।
राजनीतिक दल, स्थानीय तह र समुदायको सहकार्यले मात्र क्याम्पसमा गुणस्तर सुधार सम्भव हुन्छ । हामी सबै मिलेर लाग्यौँ भने जुम्लाको शैक्षिक स्तर माथि उठ्ने जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले वताए । उनले भने क्याम्पसको शैक्षिक सुधार सबैको साझा जिम्मेवारी हो ।
सहभागीहरूले जुम्ला बहुमुखी क्याम्पसलाई कर्णाली क्षेत्रकै नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्नुपर्ने साझा धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रमले जुम्लामा उच्च शिक्षाको सम्भावना र चुनौती दुवैलाई उजागर गरेको छ।