खोज्नुहोस

गगन थापाले बताए- नेपाली कांग्रेस २.० भनेको के हो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसको बारेमा स्पष्ट गर्दै काँग्रेसले युवाहरुसँग साझेदारको रुपमा मिलेर काम गर्न चाहेको बताएका छन् ।

बुधबार भिडिओ सन्देश जारी गर्दै सभापति थापाले विगतका नराम्रा कुराहरुलाई छोडेर आएको बताउदै विगतका राम्रा कुराहरुलाई लिएर अगाडी बढ्ने बताएका हुन् ।

उनले भनेका छन्- ‘यो बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसले गरेका कयौँ राम्रा कुराहरूलाई गर्छ। कयौँ कुराहरू जुन हामीले नजानेर होला, कहिलेकाहीँ कतिपय कुराहरू हाम्रो गल्ती नै भएको पनि होला, त्यो कुराहरू यसले छोड्छ । बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिले पनि राख्दैन ।’

पार्टीको सिद्धान्तसँग केही कुरा पनि सम्झौता नगर्ने बताउदै सत्ताको लागि जे पनि गर्ने परिपाटी काँग्रेसमा सकिएको बताए । उनले भने- ‘सत्तामा पुग्न वा टिक्नको लागि, जे पनि गर्ने, जोसँग पनि मिल्ने गर्दैन । बरु आनन्दले सरकार बाहिर बस्छ । पार्टी भनेको इलेक्सन मेसिन जस्तो भयो ।’

सभापति थापाले अघिल्लो पटक मत माग्न जादा मतदाताले पार्टी बदल्न दिएका सुझावका आधारमा आफुहरुले पार्टी बदलेको भन्दै यस पटक आफुहरुले हकका साथ मत माग्ने बताएका छन् । उनले आम जनताले चाहेको जस्तो काँग्रेस बनाएको दाबि गर्दै अब सँगै यात्रा गरेर देश बनाउने बताए ।

उनले युवाहरुलाई सम्बोधन गर्दै युवाहरुले दलहरु नयाँ किसिमले चल्नुपर्ने, देशमै कायम गर्ने वातावरण बनोस्, युवाको सोच अनुसार देश चलोस भन्ने चाहेको बताउदै युवाहरुको सोच अनुसार काँग्रेस बनेको बताए । उनले एक पटक युवाहरुले बदलिएको काँग्रेसको बारेमा एक पटक बुझ्न र सुन्न आग्रह गरेका छन् ।

बदलिएको नेपाली काँग्रेसले राष्ट्रको हित भन्दा माथि पार्टीको हितलाई राख्दैन भन्दै सभापति थापाले पार्टी जुन सुकै भूमिकामा भए पनि पार्टीलाई ‘परफरमेन्स ड्रीभन’ बनाउने बताए ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *