खोज्नुहोस

चुनावको प्रचार आजदेखि फागुन १८ सम्म गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

जुम्ला। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ ।

आयोगले सरोकारवाला सबै पक्षलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गते राति १२ बजेदेखि राजनीतिक दल र उम्मेदवारहरूले प्रचार प्रसार सुरु गर्न पाउनेछन् । निर्वाचन आचारसंहिता २०८२ मा दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला लगायतका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरण स्पष्ट उल्लेख गरिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयावधि फागुन ४ देखि १८ गते राति १२ बजेसम्म कायम रहने जानकारी दिएका छन् ।

आयोगले प्रचारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आचारसंहिता अक्षरशः पालना गर्न आग्रह गरेको छ । निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने आयोगको भनाइ छ ।

आचारसंहिताको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि आयोगले विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ । आयोगले उल्लंघनका कारण स्पष्टीकरण सोध्ने वा कानुनी कारबाही गर्नुपर्ने अवस्था नआओस् भन्ने अपेक्षा राखेको पनि जनाएको छ ।

निर्वाचन आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँग व्यापक परामर्शपछि उनीहरूको सहमतिमा तयार गरिएको दस्तावेज भएको आयोगले स्पष्ट पारेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *