काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ ।
जारी पीएम कपमा एपीएफ क्लबको ६ खेलमा ५ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशको ६ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा कर्णाली प्रदेश ६ खेलमा ३ अंकसहित नवौं स्थानमा छ भने त्रिभुवन आर्मी क्लब ५ खेलमा ९ अंकसहित दोस्रो स्थानमा छ ।
एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।
एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।
