खोज्नुहोस

उद्योगमैत्री बजेट ल्याउने तयारीमा बागमती प्रदेश सरकार : मुख्यमन्त्री बानियाँ

चितवन, १६ जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।

चितवनस्थित प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमन तथा निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री बानियाँले उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने जानकारी दिनुभयो। उहाँले व्यवसायीलाई प्रोत्साहन गर्ने नीति अन्तर्गत उद्योगमैत्री कार्यक्रमहरू समावेश गरिने बताउनुभयो।

मुख्यमन्त्री बानियाँका अनुसार वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगहरूलाई बैंकिङ ब्याजमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनको चरणमा रहेको छ। यस्ता उद्योगहरूलाई सहुलियतपूर्ण कर्जाको पहुँचमा पुर्‍याउने नीति प्रदेश सरकारले अघि बढाएको उहाँले बताउनुभयो।

उहाँले ऊर्जा क्षेत्रको व्यवस्थापन गर्दै ऊर्जालाई उत्पादनसँग जोड्ने योजनामा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो। उद्योग निरीक्षणका क्रममा उद्योगीहरूलाई राज्यको सहयोग आवश्यक रहेको भन्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर औद्योगिक विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, नेपाली निर्माण क्षेत्रमा आधुनिक, दिगो तथा वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यसहित स्थापित Prefab Panel Nepal Pvt. Ltd. ले अत्याधुनिक “स्मार्ट प्यानल” सहित विभिन्न निर्माण सामग्री नेपाली बजारमा सफलतापूर्वक विस्तार गरेको जनाएको छ।

सन् २०२४ मा स्थापना भएको कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ रहेको छ। कम्पनीका अध्यक्ष नारायण रेग्मीका अनुसार छोटो समयमै कम्पनीले आधुनिक निर्माण प्रविधिलाई देशव्यापी रूपमा विस्तार गर्दै नेपाली निर्माण क्षेत्रमा उल्लेखनीय उपस्थिति स्थापित गर्न सफल भएको छ।

कम्पनीले उत्पादन गरिरहेको EPS Cement/Calcium Based Smart Panel निर्माण कार्यलाई छिटो, सुरक्षित तथा लागत प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको हो। ताप तथा ध्वनि नियन्त्रणमा प्रभावकारी मानिने यी प्यानलहरू घर, कार्यालय, उद्योग तथा अन्य संरचनाका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।

स्मार्ट प्यानलसँगै कम्पनीले EPS Based Lightweight Blocks तथा EPS Based Net Panel समेत बजारमा ल्याएको जनाएको छ। यी सामग्रीहरूले आधुनिक निर्माण प्रणालीलाई अझ प्रभावकारी, हलुका, दिगो तथा वातावरणमैत्री बनाउने विश्वास कम्पनीको छ।

कम्पनीका अनुसार हालसम्म नेपालका ५० भन्दा बढी जिल्लामा उत्पादनहरूको बिक्री तथा वितरण भइसकेको छ। देशव्यापी डिलर तथा वितरण सञ्जाल विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ।

अनुभवी उद्योगी नारायण रेग्मी, निर्माण व्यवस्थापन विज्ञ बिमलराज गोसाई तथा उद्यमी मोतिना चन्दको नेतृत्वमा सञ्चालित कम्पनीले आगामी दिनमा कुल लगानी ५० करोड रुपैयाँसम्म विस्तार गर्ने लक्ष्य लिएको छ। उत्पादन क्षमता वृद्धि, आधुनिक प्रविधिको विस्तार, वितरण प्रणाली सुदृढीकरण तथा निकट भविष्यमा आईपीओ जारी गर्ने योजना समेत कम्पनीले सार्वजनिक गरेको छ।

कम्पनीले गुणस्तरीय तथा आधुनिक निर्माण सामग्रीमार्फत राष्ट्रिय विकास र औद्योगिक आत्मनिर्भरतामा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *