काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर टिप्पणी गर्दै संवेदनशील कूटनीतिक विषयमा जिम्मेवार र सावधानीपूर्वक बोल्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेको विषयमा शर्माले टिप्पणी गर्दै देशको प्रधानमन्त्रीले बोल्नु अघि धेरै पटक सोचेर मात्र बोल्नुपर्ने बताउदै कूटनीतिक रूपमा संवेदनशील प्रश्नमा संयम र परिपक्वता अझ आवश्यक हुने बताएका हुन् ।
शर्माले सामाजिक सञ्जालमार्फत प्रश्न उठाउँदै ‘सरकार बालेन’को मत मुख्य हो कि ‘व्यक्ति बालेन’को मत मुख्य भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताएका छन् । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो भन्ने प्रश्न पनि गरेका छन् ।
उनले सीमा मिचिएको हो कि मिचाइमा परिएको हो भन्ने विषयमा देश थप विभाजित हुन थालेको संकेत गर्दै यस विषयमा गम्भीर छलफल आवश्यक रहेको बताएका छन् ।
