काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा सञ्चालनका लागि तीन बुँदे सहमति भएको छ ।
दुवै दलले प्रदेश सभामा देखिएको बजेट निर्माणको असमझदारी, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यले सहमति गरेको बताएका छन् ।
सहमतिअनुसार दुवै दलले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन् । कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग पनि परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
यो सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् । दुवै दलले प्रदेशमा स्थिर सरकार गठनमार्फत जनअपेक्षाअनुसार विकास र सुशासनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहमतिका तीन बुँदा:
१- प्रदेशसभाहरुमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने ।
२- संयुक्त सरकारमा कोशी प्रदेश, बागमति प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्ने र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने ।
३- मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुसंग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने ।
