खोज्नुहोस

जनकपुरधाममा कर्फ्यू आंशिक रूपमा खुकुलो, १० बजेसम्म अत्यावश्यक सामग्री किन्न पाइने

जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशलाई कायम राख्दै सर्वसाधारणको दैनिक जीवन सहज बनाउन शनिबार बिहान केही समयका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो पारिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारीबाट साउन १४ गते जारी गरिएको कर्फ्यू आदेश यथावत् रहनेछ । तर, शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु खरिदका लागि कर्फ्यू आंशिक रूपमा खुकुलो गरिएको हो ।

प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो निवासमा फर्किन तथा त्यसपछि कर्फ्यूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रशासनका अनुसार कर्फ्यू अवधिमा पनि अस्पताल, औषधि पसल, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध ढुवानी गर्ने सवारी र फोहोर संकलन गर्ने सवारीसाधनलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन् ।

यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, नेपाल रेडक्रसका कर्मचारी, तीर्थयात्री, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन वा पुर्‍याउन जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाण साथमा राखी आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *