खोज्नुहोस

विश्व फोटोग्राफी दिवस र नेपालको फोटोग्राफी यात्रा

भरतबन्धु थापा

आज विश्व फोटोग्राफी दिवस । विश्वभर फोटो प्रति रुचि तथा कर्म गर्नेहरुले उत्साहका साथ दिवस मनाई रहेका छन् । प्रत्येक बर्ष अगस्ट १९ का दिनमा विश्व फोटोग्राफी दिवस मनाइने गररिन्छ ।
यो दिन केवल क्यामेरा र तस्बिरको उत्सवको समय मात्र होइन । समय, समाज, इतिहास, संस्कृति र मानवीय भावनालाई एउटा फ्रेममा सुरक्षित राख्ने कलाको सम्मान गर्ने दिन पनि हो ।
सन् १८३९ अगस्ट १९ मा फ्रान्सेली सरकारले लुइस ड्याग्युरले विकास गरेको ड्याग्युरोटाइप प्रक्रियालाई सार्वजनिक गर्दै संसारका लागि उपलब्ध गराएको घटनाको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

समयको क्रम र फोटोग्राफीको विकाससँगै संसारलाई हेर्ने र बुझ्ने हाम्रो दृष्टिकोण पनि परिवर्तन भयो । जीवनका सामान्य क्षणहरूलाई तस्बिरले इतिहासको दस्ताबेज बनाइदिन्छ यसकारणले पनी होला हजारौँ शब्दले भन्न नसकेको कथा एउटा तस्बिरले भन्न सक्छ । त्यसैले आज फोटोग्राफी कला मात्र नभएर सञ्चार, पत्रकारिता, अनुसन्धान र इतिहास लेखनको मात्र नभएर तथ्य प्रमाणीत गर्ने महत्वपूर्ण माध्यम बनेको छ ।

नेपालमा फोटोग्राफीको विकास

नेपालमा फोटोग्राफीको प्रवेश राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको युरोप भ्रमणसँग जोडिन्छ । सन् १८५० मा उनले युरोपबाट फोटो खिच्ने क्यामेरा नेपाल ल्याएको भएतापनी उक्त क्यामेराबाट खिचिएको फोटो हालसम्म स्पष्ट रूपमा पहिचान हुन सकेको छैन । तर नेपालमा फोटो खिचेर प्रकाशनमा ल्याउने पहिलो व्यक्ति भने बेलायती नागरिक क्लेरेन्स कोमिन टेलर मानिन्छन् । सन् १८६३ मा नेपाल आएका टेलरले काठमाडौं, भक्तपुर र ललितपुरका दरबार, स्थानीय समुदाय तथा जङ्गबहादुर राणाको परिवारका तस्बिर खिचेका थिए ।
टेलरका तस्बिरले त्यो बेलाको नेपालको सामाजिक जीवन, पहिरन, संस्कृति, मानिसको जीवनशैली र काठमाडौं उपत्यकाको स्वरूप बुझ्न महत्वपूर्ण ऐतिहासिक आधार प्रदान गर्छन् । उनका केही तस्बिरहरू अहिले पनि बेलायती पुस्तकालयका संग्रहमा सुरक्षित रहेका छन् ।

नेपालका पहिलो नेपाली फोटोग्राफरका रूपमा डम्बर शमशेर राणालाई लिइन्छ । उनले सन् १८७० मा युरोपेली फोटोग्राफर बोर्न र सेफर्डबाट फोटोग्राफी सिकेर दरबारमा फोटो स्टुडियो स्थापना गरेका थिए । उनको फोटोग्राफीप्रतिको रुचिलाई छोरा शमर शमशेरले निरन्तरता दिएका थिए । शमर शमशेर नेपालको इतिहासका प्रभावशाली फोटोग्राफरका रूपमा चिनिन्छन् भने उनका छोरा तथा प्रसिद्ध नाटककार बालकृष्ण समले पनि यस क्षेत्रमा योगदान पुराएका थिए ।

राणा दरबारकै प्रोत्साहनमा सर्वसाधारणतर्फ फोटोग्राफी फैलिने क्रम सुरु भयो । पूर्णमान चित्रकारले सन् १८८० मा कलकत्ता पुगेर बङ्गाली फोटोग्राफर नील मधवा दीनबाट फोटोग्राफी सिके । नेपाल फर्किएपछि उनले आफ्ना दाजु दीर्घमान चित्रकारलाई पनि यो कला सिकाए । दीर्घमानले सिंहदरबारमा कला विभागमा काम गर्नुका साथै सन् १९०८ मा चन्द्र शमशेरसँग युरोप भ्रमण गर्ने अवसर पाए र त्यहाँबाट क्यामेरा तथा फोटोग्राफीका सामग्री ल्याए। उनले काठमाडौंको भीमसेनस्थानमा आफ्नै फोटो स्टुडियो सञ्चालन समेत गरेका थिए ।

दीर्घमानले आफ्ना छोरा गणेशमान चित्रकारलाई पनि फोटोग्राफी सिकाए । गणेशमान ‘रोयल फोटोग्राफर’का रूपमा प्रसिद्ध भए । पछि उनका छोराहरू पुष्प चित्रकार र किरणमान चित्रकारले पारिवारिक फोटोग्राफी परम्परालाई निरन्तरता दिए । किरणमानले ‘गणेश स्टुडियो’मार्फत यो व्यवसायलाई निरन्तरता दिइरहेका छन् भने पुष्प चित्रकारले पुरातत्व विभागमा वरिष्ठ फोटोग्राफरका रूपमा लामो समय सेवा गरे ।

यसरी नेपालमा फोटोग्राफीको प्रारम्भ दरबारबाट भए पनि क्रमशः सर्वसाधारण र व्यावसायिक क्षेत्रमा विस्तार हुँदै गयो । नेपालको फोटोग्राफी इतिहासमा पहिलो व्यावसायिक फोटोग्राफरका रूपमा पूर्णमान र दीर्घमान चित्रकारको नाम विशेष रूपमा उल्लेखनीय छ ।
पत्रकारितासँग जोडिँदै फोटोग्राफी

नेपालमा फोटोग्राफी विस्तारै पारिवारिक तस्बिर र दरबारको दस्ताबेजबाट बाहिर निस्केर पत्रकारिताको अभिन्न अंग बन्न पुग्यो। विशेषगरी १९५० देखि १९८० को दशकसम्म फोटो पत्रकारिताको विकास हुँदै गएको पाइन्छ।

नेपालका राजनीतिक परिवर्तन, जनआन्दोलन, भूकम्प, प्राकृतिक विपत्ति, सामाजिक आन्दोलन, संस्कृति, पर्यटन र खेलकुदका महत्वपूर्ण घटनालाई नेपाली फोटो पत्रकारहरूले क्यामेरामार्फत इतिहासमा सुरक्षित गरेका छन्। एउटा समाचार पढ्दा हामी घटनाको जानकारी पाउँछौँ भने एउटा प्रभावशाली तस्बिरले त्यही घटनाको अनुभूति गराउन सक्छ। यही कारण फोटो पत्रकारिता पत्रकारिताको शक्तिशाली माध्यम बनेको हो।

डिजिटल युगको फोटोग्राफी

आज फोटोग्राफी प्रविधिले ठूलो फड्को मारेको छ । फिल्म क्यामेराबाट डिजिटल क्यामेरा र अहिले स्मार्टफोनसम्म आइपुग्दा तस्बिर खिच्ने प्रविधि सबैको पहुँचमा पुगेको छ । सामाजिक सञ्जालले हरेक व्यक्तिलाई आफ्नो कथा तस्बिरमार्फत संसारसम्म र्पुयाउने अवसर त दिएको छ। तर अवसर सगै चुनौतिहरुका पनी थपीदिएको छ ।

तर प्रविधि परिवर्तन भए पनि असल फोटोग्राफीको मूल कुरा परिवर्तन भएको छैन,सही क्षण पहिचान गर्ने दृष्टि, प्रकाशको समझ, संरचना, भावना र कथालाई एउटै फ्रेममा प्रस्तुत गर्ने क्षमता ।

नेपालजस्तो प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधताले भरिएको देशका लागि फोटोग्राफी अझ महत्वपूर्ण छ । हिमालदेखि तराईसम्मका भूदृश्य, जातजातिका संस्कृति, भाषा, परम्परा, पर्व, कला, सम्पदा र जनजीवनलाई तस्बिरमा अभिलेखीकरण गर्नु भनेको नेपालको दृश्य इतिहासलाई सुरक्षित गर्नु हो ।

त्यसैले विश्व फोटोग्राफी दिवस फोटोग्राफरलाई मात्र सम्मान गर्ने दिन होइन, तस्बिरको माध्यमबाट समाज, संस्कृति, प्रकृति र इतिहासलाई जोगाउने सबैप्रति सम्मान व्यक्त गर्ने दिन हो । आज खिचिएको एउटा तस्बिर भोलिको पुस्ताका लागि इतिहासको अमूल्य दस्ताबेज बन्न सक्छ । यही नै फोटोग्राफीको सबैभन्दा ठूलो शक्ति हो । तस्बिर माया गर्ने सम्पुर्ण महानुभवहरुलाई विश्व फोटोग्राफि दिवको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *