काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिविको शैक्षिक क्यालेन्डर अनिवार्य रूपमा पालना गर्न पदाधिकारीलाई निर्देशन दिएका छन्।
त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा बोल्दै उनले प्रवेश परीक्षा, भर्ना, अध्ययन–अध्यापन, परीक्षा र नतिजा प्रकाशन तोकिएको समयमै गर्नुपर्ने बताए। क्यालेन्डर प्रभावित भए त्यसको कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले परीक्षामा विद्यार्थीले कति लेख्यो भन्नेभन्दा कति सिक्यो भन्ने मापन गर्नुपर्ने बताए। विश्वविद्यालयले अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै व्यावहारिक, सिर्जनशील र समस्या समाधान गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताए।
उनले विद्यार्थीलाई केन्द्रमा राखेर कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिको जिम्मेवार प्रयोगमार्फत विश्वविद्यालय सुधार अघि बढाउनुपर्नेमा जोड दिए ।
