खोज्नुहोस

सातामा ११ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ — यो साता सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । तोलामै सुन ११ हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकी डलर सूचकांक केही माथि जानु, भूराजनीतिक तनाव यथावत् रहनु, नयाँ वर्ष निकट रहनुलगायत विषयले अन्तर्राष्ट्रिय बजारमा सुनप्रति आकर्षण बढेपछि मूल्य पनि वृद्धि भएको जानकार बताउँछन् । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो । बुधबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगे पनि बिहीबार घटेको थियो ।

बिहीबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्यले पनि यो साता कीर्तिमान कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला चाँदीको ४ हजार १ सय ५ रुपैयाँ कायम रहेकामा एकपछि अर्को रेकर्ड ब्रेक गर्दै बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ४ सय २० रुपैयाँ कायम रह्यो । बिहीबार केही घटेर प्रतितोला चाँदीको ४ हजार ४ सय रुपैयाँ भएकामा शुक्रबार पुनः ऐतिहासिक रेकर्ड बनाउँदै प्रतितोला चाँदीको ४ हजार ५ सय ६५ रुपैयाँ कायम भएको छ ।

चाँदी प्रतितोला ४६० रुपैयाँ बढी रहेको महासंघले जनाएको छ । निर्माण र औद्योगिक क्षेत्रमा विद्युतीय सामग्री एवं विद्युतीय सवारीको माग बढ्नु, मागअनुसार आपूर्ति हुन नसक्दा चाँदीको मूल्य बढेको महासंघका महासचिव किरणभाइ बज्राचार्यले बताए ।

नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ । बलियो सट्टेबाजी गतिविधि (स्पेकुलेटिभ मोमेन्टम) र बढ्दो भू–राजनीतिक तनावबीच अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षाले बहुमूल्य धातुहरू उकालो लागेको रोयटर्समा उल्लेख छ । शुक्रबार सुन प्रतिऔंस ४५०१.४४ अमेरिकी डलरमा कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *