जुम्लाको गुठिचौर गाउँपालिकामा बालबालिकाका सवाल सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना बनाएको छ।
दुई दिने कार्यशाला गोष्ठी मार्फत गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना बनाएको हो ।
पालिकाले सूचकहरुबारे अनुगमन गरिसकेपछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्न पत्र पठाउने र सम्पूर्ण सरोकारवाला, निकाय र पालिकास्तरका साझेदार संघसंस्थासमेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।
उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सकेमात्र देश विकासको आधार निर्माण हुने भन्दै पालिकाभित्रका बालबालिकाको अधिकार सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताए ।