रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ४७ वर्षपछि भौतिक संरचना तालभन्दा बाहिर सार्न थालिएको छ ।
२०३२ सालदेखि रारा ताल परिसरमा निर्माण गरिएका संरचना माथिल्लो मिलिचौर सार्न थालिएको हो । यो वर्ष झन्डै ५९ लाख रुपैयाँ बजेटमा मिलिचौरमा निकुञ्जको कार्यालय सुरु गरिएको छ ।
निकुञ्ज विभागको परिपत्रअनुसार निकुञ्ज कार्यालयसहित नेपाली सेनाको ब्यारेक, होटललगायत संरचना ५ वर्षभित्र बाहिर सारिसक्ने निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘रारा तालको प्राकृतिक सुन्दरता बचाउन र पर्यटक आगमनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अब ताल नजिकै कुनै पनि निकायले भौतिक संरचना निर्माण गर्न पाउने छैन ।’