सोलुको लुक्लाबाट काठमाडौंका लागि उडेका यात्रुलाई सीता एयरले रामेछाप विमानस्थलमा ओरालेर अलपत्र छाडेको छ । बिहीबार बिहान लुक्ला काठमाडौंको उडानमा रहेको सीता एयरको ९एन–एजेएच जहाज काठमाडौंको मौसम खराब भएपछि धुलिखेलको आकाशबाट रामेछाप डाइभर्ट भएको थियो ।
रामेछाप विमानस्थलमा यात्रु ओरालेर सोही जहाजले लुक्लाको उडान गरेको थियो । अघिल्लो उडानमा काठमाडौं जाने यात्रु भने रामेछाप विमानस्थलमा नै छोडिएको छ ।
सीता एयर रामेछापका स्टेसन इन्चार्ज सरोज घिमिरेले काठमाडौंको मौसमका कारण डाइभर्ट भएको जहाज रामेछापबाट काठमाडौं जाने अनुमति नभएकोले यात्रुहरुलाई अर्को उडानको व्यवस्था गर्न नसकिएको बताए । रामेछापका यात्रु लुक्ला हुँदै फेरि काठमाडौं उडान गर्न पाउँथे तर सीता एयरले त्यस्तो उडान गरेन । ‘आज होइन, भोलिका लागि त्यस्तो उडान मिलाउन सकिन्छ,’ घिमिरेले भने । जहाजमा १९ जना यात्रु रहेको १ जनाबाहेक सबै विदेशी यात्रु थिए ।
लुक्लाबाट काठमाडौंका लागि भाडा तिरेका यात्रुहरुलाई रामेछाप ओरालेपछि विमान कम्पनीले वैकल्पिक उडान गर्न नसके पनि काठमाडौंसम्म पुर्याउनुपर्ने माग यात्रुहरुले गरेका थिए । तर सीता एयरले चासो नदिँदा अधिकांश विदेशी यात्रु अन्योलमा परेका छन् । केही यात्रु भने गाडी खोजेर काठमाडौंतर्फ गएका छन् ।
लुक्लाबाट काठमाडौंका लागि प्रतियात्रु ६ हजार २ सय रुपैयाँ भाडा तिरेका यात्रुहरुले कम्पनीबाट पैसा फिर्तासमेत पाएका छैनन् । लुक्लाबाट रामेछाप उडानको भाडा त्यति पर्दैन । घिमिरेले फिर्ता गर्नुपर्ने भाडा जहाँ टिकट काटेको त्यहीँ माग्नुपर्ने बताए ।