स्थायी हुनुपर्ने मागसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक र अध्यापकहरूले प्रतिष्ठानका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।
करार प्राध्यापक, अध्यापकहरूलाई स्थायी गर्नुपर्ने माग राख्दै पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर रिले अनसन सुरु गरेको अध्यापक तथा प्रध्यापक संघर्ष समितिका संयोजक सह-प्राध्यापक डाक्टर राम जीवन प्रसादले बताए।
देशकाे सान बनेकाे प्रतिष्ठानमा कार्यरत प्राध्यापक, अध्यापकहरु जसकाे कारण देशकाे उत्कृष्ट नतिजा आइरहेकाे छ, उनले भने ‘दु:ख कुरा गर्विलाे नतिजा दिने प्राध्यापकहरु र अध्यापकहरु नै लामाे समय करारमा बस्नु परेकाे छ। प्रतिष्ठानलाई अझ अगाडि बढाउन काम गर्नेलाई स्थायित्व दिन जरुरी छ।’
पदाधिकारीको कार्यकक्षबाट हुने सबै काम ठप्प छन्। गत जेठ १४ गतेदेखि करार अध्यापक र प्रध्यापकहरूलाई स्थायी गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम सुरु गरेका थिए।
उनीहरूले संघर्षको पहिलो चरणमा प्रशासन कार्यालय, नगरपालिका, प्रतिष्ठानका सबै पदाधिकारी, सहकुलपति र कुलपतिको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए।
एक महिना बढी समयसम्म कुनै पनि सुनुवाइ नभएपछि असार १७ देखि २२ गतेसम्म कालोपट्टी बाँधेर प्रतिष्ठानको काम गरिरहेकाे प्राध्यापक सेसानन्द संज्याले बताए।
प्रतिष्ठानकाे भविष्यका लागि करार प्राध्यापकहरुलाई स्थायी गर्नु नित्तान्त जरुरी छ। उनले भने, संस्था र संस्थामा काम गर्ने दुबैका निम्ति हामीले आन्दोलन थालेकाे। माग पूरा नहुन्जेल आन्दोलन निरन्तर चलिरहनेछ।
अध्यापक प्रध्यापक संघर्ष समितिका प्रवक्ता रवीन्द्र रोकायाले कर्णाली प्रतिष्ठानका प्राध्यापक र अध्यापकहरूको मागप्रति प्रतिष्ठान पदाधिकारी र सरकार उदासीन देखिएपछि पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाइएको बताए।ण