रारा राजमार्ग अन्र्तगतको त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नति हुने भएको छ । त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नतिका लागि सडक डिभिजन जुम्लाले बोलपत्र आव्हान गरेको छ । (लुम्बिनी रारा पर्यटकीय द्रुत मार्ग अन्र्तगतको) त्रिवेणी–टोप्ला सडक खण्डमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आव्हान गरिएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिएका छन् । यस्तै रारा राजमार्ग अन्र्तगत २÷२ कल्भर्ट र कज्वे निर्माणका लागि समेत बोलपत्र आव्हान गरिएको उनले बताए ।
‘वर्षाको समयमा प्रतिकुम मौसमले सडक निर्माण, स्तरउन्नतिका काम ठप्प हुन्छन्, यो समयलाई मितव्ययी ढंगले उपयोग गर्दै बोलपत्र आव्हान गर्ने विभागको नीति हुन्छ, हामीले साउनको पहिलो हप्तामै बोलपत्र आव्हान गर्न सफल भएका छौं ।’ सडक डिभिजन जुम्लाका प्रमुख विष्टले भने ।
सडक डिभिजन जुम्लाका अनुसार त्रिवेणी–टोप्ला सडक खण्ड लुम्बिनी रारा पर्यटकीय द्रुत मार्ग र रारा राजमार्गको साझा खण्ड हो । त्रिणेणी तुल्सिपुर, मखनटाकुरी, लुहाम, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुँदै मुगु पुग्ने मार्ग ‘लुम्बिनी रारा पर्यटकीय द्रुत’ मार्ग हो भने, थारमारे, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुदै मुगु रारा पुग्ने मार्ग ‘रारा राजमार्ग हो’ ।
तुल्सिपुर, मखनटाकुरी, लुहाम, चौरजहारी,जाजरकोट खलंगा,जुम्ला कुडारी हुँदै मुगु पुग्ने मार्ग (लुम्बिनी रारा पर्यटकीय द्रुत मार्गमा) ८५ लाख २८ हजार १ सय २७ रुपैंया ५६ पैंसा लागतमा ग्रावेल तथा सडक चौडा बनाउन बोलपत्र आव्हान भएको सडक डिभिजन जुम्लाका सव इन्जिनियर विरेन्द्र रावलले बताए । उनकानुसार थारमारे, चौरजहारी, जाजरकोट खलंगा, जुम्ला कुडारी हुदै मुगु रारा पुग्ने (रारा राजमार्ग) को त्रिवेणी–टोप्ला सडक खण्डमा भ्याड बाहेकको १ करोड ६६ लाख ५ हजार ५ सय ७९ रुपैयाँ ५९ पैंसा लागतमा २ कल्भर्ट र २ वटा कज्वे निर्माणका लागि बोलपत्र आव्हान भएको हो ।
साबिकको ताम्ती गाउँ विकास समिति र हालको तातोपानी गाउँपालिका वडा नम्वर ७ र ८ जोड्ने त्रिवेणी–टोप्ला सडक खण्ड स्तरउन्नति हुनु यो क्षेत्रको लागि सुखद् खबर भएको तातोपानी ७ का वडा अध्यक्ष तिलक रावतले बताए । त्रिवेणी–टोप्ला सडक खण्डले छुने भेरीखोलाका दर्जनौं गाउँबस्तीका स्थानीयले सास्ती खेप्दै आएका छन् । सडक स्तरउन्नति हुने खबरले उत्साहित बनाएको स्थानीय मुन बहादुर कुँवरले बताए । ‘पैतालामा ठेला उठ्नेगरि भारी बाकेर हिड्नुपर्ने बाध्यता छ, भरपर्दो सडक थिएन, स्टेचरमा विरामी बोक्नु पर्छ, स्तरउन्नति हुने खबरले हामी उत्साहित छौं ।’ उनले भने ।
त्रीवेणीमा पक्कि पुल बनेपनि त्रिवेणी–टोप्ला सडक खण्डमा सदाबहार सवारी साधन गुड्दैनन् । सडक खुलेको एक दशक सम्म पनि स्तरउन्नति नभएपछि भेरीखोला क्षेत्र जुम्लाकै दुर्गम क्षेत्रका रुपमा चिनिन्छ । रारा राजमार्गमा समावेश भएपछि भने स्तरउन्नितको काम सुरु भएको हो । गत आर्थिक वर्षमा यो सडक खण्ड साढे ४ किलो मिटर स्तरउन्नती तथा ग्रावेल भएको हो । गत आवमा ३ करोड ६८ लाख ३२ हजार लागतमा औसत ८ मिटर चौडाईमा साढे ४ किमि सडक स्तरउन्नती तथा ग्रावेल भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।