खोज्नुहोस

कर्णालीको स्वास्थ्य र शिक्षाको मेरुदण्ड: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

 

 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल सरकारको संसदबाट पारित ऐनअनुसार २०६८ (२०११) स्थापना गरिएको हो। यो प्रतिष्ठान कर्णाली अञ्चल अस्पताल, जुम्लालाई स्तरोन्नति गरी स्थापना गरिएको स्वास्थ्य तथा शैक्षिक संस्था हो। यसको उद्देश्य भनेको दुर्गम तथा पिछडिएको क्षेत्रका जनताले गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षामा सहज पहुँच पाउने व्यवस्था गर्नु हो।

 

 

 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल लक्ष्य भनेको जुम्ला र अन्य पिछडिएको क्षेत्रमा स्वास्थ्य संस्था स्थापना गरी जनतालाई सहज र सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्नु, दक्ष जनशक्ति उत्पादन गर्नु र स्वास्थ्यसम्बन्धी अनुसन्धानलाई प्रवर्द्धन गर्नु हो। प्रतिष्ठान ऐनअनुसार पिछडिएको क्षेत्रमा समेटिएका जिल्लाहरू हुन्: हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बाजुरा, बझाङ र अछाम र संघीय प्रणाली अनुसार थप जिल्लाहरू सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान रहेका छन्।
नेपाल सरकारको स्वामित्वमा रहेको कर्णाली अञ्चल अस्पतालले २०६९ सालको कात्तिक १७ गतेदेखि औपचारिक रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको रूपमा सेवा सुरू गरेको हो। सुरुमा नै यहाँ बाह्यरोगी भर्ना, प्रयोगशाला, एक्स-रे, अल्ट्रासोनोग्राफी, ईसीजी, र शल्यक्रिया जस्ता सेवा प्रदान गर्न थालेको थियो। पछिल्ला वर्षहरूमा यी सेवाहरू निरन्तर स्तरोन्नति हुँदै स्वास्थ्य सेवा र शैक्षिक क्षेत्रको दायरा विस्तार भइरहेको छ।
जनसंख्याका आधारमा कर्णाली प्रदेशमा जम्मा १७ लाख एक हजार आठ सय मानिस बसोबास गर्छन्, जुन सबै प्रदेशहरूमा न्यूनतम जनसंख्या हो। कर्णाली प्रदेशको भूगोल कर्णाली प्रदेश प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण भए पनि राज्य सेवाबाट पछि परेको, भौगोलिक दृष्टिले अत्यन्तै विकट रहेको छ। यही कठिनाई बीच सेवा, शिक्षा र अनुसन्धानको उज्यालो दीप प्रज्वलित गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिबद्ध छ।
स्थापना पछिका १३ वर्षमा प्रतिष्ठानले विभिन्न चुनौतीहरू पार गर्दै उल्लेखनीय प्रगति गरेको छ। सुरुका दिनमा सामान्य उपचारसमेत कठिन रहेको जुम्लामा आज आकस्मिक सेवा, बाह्य तथा आन्तरिक रोगी सेवा, प्रयोगशाला, एक्स-रे, अल्ट्रासाउन्ड, ईसिजी, शल्यक्रिया, प्रसूति सेवा, रक्त बैंक, एम्बुलेन्स, र टेलिमेडिसिनजस्ता सुविधा उपलब्ध छन्। पहिल्यै उपचारको लागि सहर जानुपर्ने बाध्यता रहेको यस क्षेत्रका जनताका लागि अहिले स्थानीय स्तरमै गुणस्तरीय उपचार सम्भव भएको छ।
प्रतिष्ठानमार्फत हाल स्नातकमा एमबीबीएस, स्नाकोत्तर (एमडी/एमएस) मास्टर्स ईन पब्लिक हेल्थ (एमपीएच), मास्टर्स इन फार्मेसी (एमफर्मा), एमएन लगायतका उच्चस्तरीय शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्। यो परिवर्तन सहज थिएन; यसमा राज्यको सहयोग, दूरदर्शी नेतृत्व, संस्थागत प्रतिबद्धता, र स्थानीय समुदायको निरन्तर साथ रहेको छ। स्थापना पछिका प्रारम्भिक चार वर्षमै ३०० शय्याको अस्पताल निर्माण गरिएको थियो। शैक्षिक कार्यक्रमको सुरुवात स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्स तहबाट भएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत चार प्रमुख स्कुलहरू सञ्चालनमा छन: स्कुल अफ फार्मेसी (बी फर्मा र एम फर्मा), स्कुल अफ पब्लिक हेल्थ (बीपीएच, एमपीएच), स्कुल अफ नर्सिङ एण्ड मिडवाइफ्री (बीएस्सी नर्सिङ, बीएनएस, एमएन), र स्कुल अफ मेडिसिन (एमबीबीएस एमडी, एमएस)। स्कुल अफ फार्मेसीले औषधि निर्माण, व्यवस्थापन र प्रयोगमा दक्ष जनशक्ति उत्पादन गर्छ भने, स्कुल अफ पब्लिक हेल्थले समुदाय आधारित स्वास्थ्य सेवा र नीति निर्माणमा योगदान पुर्‍याइरहेको छ। स्कुल अफ नरसिङले नर्सिङ र मिडवाइफरी सेवा विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ, विशेषतः मातृ तथा नवजात सेवामा स्कुल अफ मेडिसिनले चिकित्सक र विशेषज्ञ उत्पादन गर्दै शिक्षण, उपचार र अनुसन्धानमा अग्रणी योगदान दिएको छ। हालसम्म ५८ जना दीक्षित भइसकेका छन् भने ४ सय ५१ जना विद्यार्थी अध्ययनरत छन्I सय भन्दा बढी दक्ष चिकित्सकहरुले सेवा दिइ रहेकाछन, जसले कर्णालीजस्ता दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णाली प्रदेश तथा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने लक्ष्यसहित भविष्यका लागि बहुआयामिक योजनाहरू अघि सारेको छ। प्रतिष्ठानले स्नातकका साथै  स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै विशेषज्ञ जनशक्ति उत्पादनमा जोड दिएको छ। साथै, दैलेखको राकम कर्णालीमा ५० शैयाको सेटेलाइट अस्पताल स्थापना गरी स्थानीय तहमा सेवा विस्तार गर्ने तयारी भइरहेको छ।
जलवायु परिवर्तनको सन्दर्भमा जलवायु सहनशील स्वास्थ्य प्रणाली निर्माण, स्वास्थ्य पूर्वाधारको स्तरोन्नति, प्रयोगशाला र छात्रावास विस्तार, तथा उडान र सडक पहुँच सुधार योजनामा समावेश छन्। साथै, प्रतिष्ठानले अनुसन्धान, अन्तर्राष्ट्रिय साझेदारी, जडीबुटी तथा हिमाली स्वास्थ्य सेवामा केन्द्रित नविन पहलहरू अघि बढाउँदैछ, जसले कर्णाली प्रदेशमा दिगो, पहुँचयोग्य र जनमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्न मद्दत गर्नेछ। यसरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा र शिक्षाको नयाँ युगको सुरुवात गर्दै कर्णालीको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *