खोज्नुहोस

तराईमा अत्यधिक गर्मी, नेपालगञ्जको खजुरामा ४०.२ डिग्री पुग्यो तापक्रम

काठमाडौँ । देशभरका विभिन्न स्थानमा तापक्रम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालदेखि मधेशसम्मका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी देखिएको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा तुलनात्मक रूपमा चिसोपना कायम रहेको छ।

जसअनुसार विहिबार दिउसो ३ बजे बाँकेको नेपालगञ्जस्थित खजुरामा सबैभन्दा धेरै ४०.२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । त्यस्तै, लुम्बिनी, मधेश र मध्य तराईका विभिन्न स्थानमा ३५ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ।

पश्चिम तराईका केही क्षेत्रमा ३९.१, ३८.८ र ३८ डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएकाले ती क्षेत्रमा तातो हावा र अत्यधिक गर्मीको प्रभाव रहेको छ । मध्य तथा पूर्वी तराईका धेरै स्थानमा पनि तापक्रम ३२ देखि ३७ डिग्री सेल्सियसको बीचमा रहेको छ।

यता काठमाडौँ उपत्यका र आसपासका पहाडी जिल्लाहरूमा तापक्रम २५ देखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहेको देखिन्छ । यसले तराईको तुलनामा मध्यम खालको मौसम रहेको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा भने तापक्रम उल्लेखनीय रूपमा कम रहेको छ। पूर्वी हिमाली क्षेत्रका केही स्थानमा १३.६ डिग्री सेल्सियससम्म तापक्रम झरेको देखिन्छ भने अन्य हिमाली क्षेत्रमा १७ देखि २१ डिग्री सेल्सियसको बीचमा रहेको छ ।

तराईका जिल्लामा गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। विशेषगरी दिउँसोको समयमा लामो समय घाममा नबस्न, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन र वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *