काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण फैलिएको भन्दै पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
विभागका महानिर्देशक डा. उमेश दाहालले पछिल्लो तीन महिनादेखि देशका विभिन्न स्थानमा बर्ड फ्लु देखिएकाले नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरेर संक्रमण नियन्त्रणको प्रयास भइरहेको जनाएको छ ।
विभागका अनुसार २०८२ चैत ४ गते मोरङ जिल्लामा पहिलोपटक बर्ड फ्लु (एच ५ एन १ ) पुष्टि भएपछि हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पन्छी नष्ट गरिएको छ । त्यसैगरी नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको विभागले जनाएको छ ।
कोशी प्रदेशमा संक्रमण फैलिन नदिन गृह मन्त्रालयसँगको समन्वयमा एक महिनासम्म पन्छीको ओसारपसारमा रोक लगाइएको थियो । अहिले अवस्था नियन्त्रणमा आएपछि उक्त व्यवस्था खुकुलो बनाइएको छ । पशु क्वारेन्टाइन कार्यालयहरूलाई उच्च सतर्कतामा राखी गस्ती परिचालन गरिएको र अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छीहरू नष्ट गरिएको विभागले जनाएको छ ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, क्षेत्रीय प्रयोगशाला तथा राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामार्फत रोग पहिचानको कामलाई प्रभावकारी बनाइएको छ । संक्रमण पुष्टि हुनासाथ जोखिम मूल्याङ्कन टोली र द्रुत कार्यदल परिचालन गरेर संक्रमित क्षेत्रमा रहेका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ र उत्पादन सामग्री सुरक्षित रूपमा नष्ट गरिएको छ ।
विभागका अनुसार कोशी प्रदेशमा देखिएको संक्रमण अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको छ । तर पछिल्लो समय काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पालिएका पन्छीमा संक्रमण बढ्दै गएको छ ।
यसैबीच, नेपालमा देखिएको बर्ड फ्लु भाइरसको स्वरूप परिवर्तन भएको छ वा छैन भन्ने यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको आनुवंशिक परीक्षण प्रक्रिया पनि सुरु गरिएको छ । विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोग नगर्न र ढुवानीका सवारीसाधन पूर्ण रूपमा निसंक्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन आग्रह गरेको छ ।
त्यस्तै, काग लगायतका जंगली पन्छीसँग घरपालुवा पन्छी र दाना सम्पर्कमा आउन नदिने गरी पन्छीपालन गर्न पनि सुझाव दिइएको छ । पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था पालना गर्न विभागले आग्रह गरेको छ ।
विभागका अनुसार पछिल्लो समय बर्ड फ्लुसँगै कम घातक एभियन इन्फ्लुएन्जा, रानिखेत र इ. कोलाईजस्ता रोगको संक्रमण पनि धेरै पन्छीमा देखिएको छ । यस्ता रोगका कारण पनि पन्छीमा उच्च मृत्युदर हुन सक्ने भएकाले नियमित खोप लगाउन र संक्रमण पुष्टि भएमा मरेका पन्छीलाई गहिरो खाडलमा पुरी आवश्यक निसंक्रमण गर्न आग्रह गरिएको छ ।
कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। साथै, बर्ड फ्लु नियन्त्रणका लागि सबै सरोकारवाला निकायको सहयोग आवश्यक रहेको जनाएको छ ।
