काठमाडौँ । सभामुख डीपी अर्यालले वर्तमान सरकार असफल हुने कुनै छुट नरहेको बताएका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले मुलुकमा सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्ने बताउदै सरकारलाई असफल हुने छुट नरहेको बताएका हुन् ।
उनले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न आग्रह गर्दै पर्यटन क्षेत्रको विकास, व्यवसाय प्रवर्द्धन र व्यावसायिक हितमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताएका थिए । उनले पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण विषय सुरक्षा रहेको बताउँदै हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षित वातावरण बनाउनुपर्नेमा जोड दिए । पर्यटकलाई आकर्षित गर्न सेवा, सुविधा र व्यवहारमा सुधार आवश्यक रहेको भन्दै व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।
सभामुख अर्यालले काठमाडौँ उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताए । अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै पर्यटकका लागि निश्चित क्षेत्रमा छुट्टै बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
प्रस्तावित पर्यटनसम्बन्धी विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको बताउँदै उनले आगामी ५० वर्षलाई ध्यानमा राखेर दीर्घकालीन सोचसहित कानुन निर्माण गर्नुपर्ने बताए । पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई आकर्षित गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको सभामुख अर्यालले बताए । ‘नेपाल वायुसेवा निगम बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,’ उनले भने । विभिन्न विदेशी वायुसेवा कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन विकासलाई प्राथमिकता दिन आग्रह गरे ।
नेपालको पर्यटन विकासका लागि नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उनले बताए । यसका लागि पर्यटन व्यवसायीको सहयोग र सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ ।
सभामुख अर्यालले नेपाली र विदेशी पर्यटकबीच सेवामा कुनै पनि प्रकारको विभेद गर्न नहुनेमा पनि जोड दिए । हवाई टिकटदेखि होटल तथा अन्य पर्यटन सेवासम्म समान व्यवहार हुनुपर्ने उनले बताए ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई अझ बलियो, व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्ने भन्दै उनले पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई सुदृढ बनाउनुपर्ने बताए । भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगबारे पनि गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ ।
पछिल्लो निर्वाचनमा जनताले ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै सभामुख अर्यालले अब सरकार असफल हुने अवस्था नरहेको बताए । मुलुक समृद्ध बनाउनुपर्ने र सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
