खोज्नुहोस

जाजरकोट पहिरो अपडेट: तीन जना सम्पर्कविहीन, १० जना घाइते

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।

शनिबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जना भने आफन्तको घरमा बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् ।

पहिरोपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । घाइतेमध्ये रामबहादुर शाही र भद्राकली कार्कीको अवस्था गम्भीर रहेको छ । दुवैलाई थप उपचारका लागि क्रमशः नेपालगञ्ज र सुर्खेत पठाइएको छ ।

त्यस्तै केदार कार्कीलाई पनि प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल जाजरकोट तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पहिरोका कारण भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ की करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन तीनै जनाको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । लगातार वर्षा र पहिरोका कारण घटनास्थलमा उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ । घटनाको थप विवरण आउने क्रम जारी छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *