खोज्नुहोस

होटल संघ नेपाल सुदूरपश्चिमको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध

होटल संघ नेपाल (ज्ब्ल्) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन तथा होटल व्यवसायको विकास, प्रवद्र्धन र व्यवसायीको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भट्टले सुदूरपश्चिमको पर्यटन तथा होटल व्यवसायको समृद्धिका लागि इमानदारी, पारदर्शिता र समन्वयका साथ समर्पित भएर काम गर्ने बताए । प्रदेशमा पर्यटनका प्रशस्त सम्भावना रहेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका दृष्टिले सुदूरपश्चिम महत्वपूर्ण सम्भावना बोकेको प्रदेश भए पनि पर्यटन पूर्वाधार, प्रचार–प्रसार तथा व्यवसायिक वातावरणका क्षेत्रमा थप सुधार आवश्यक रहेको नवनिर्वाचित भट्टले बताएका छन्। उनले होटल व्यवसायलाई पर्यटन उद्योगको महत्वपूर्ण आधारका रूपमा विकास गर्दै प्रदेशमा पर्यटक आगमन बढाउने र स्थानीय अर्थतन्त्रमा पर्यटनको योगदान विस्तार गर्ने दिशामा संघले भूमिका निर्वाह गर्ने बताए।

नयाँ कार्यसमितिले सुदूरपश्चिमका होटल तथा पर्यटन व्यवसायीलाई संगठित गर्दै व्यवसायीका समस्या समाधान, व्यवसायिक क्षमता अभिवृद्धि तथा सम्बन्धित सरकारी निकायसँग समन्वयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
होटल संघ नेपाल सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा प्रमानन्द भण्डारी, महासचिवमा थर्क बहादुर शाह, सदस्यहरुमा पदम विक्रम सिंह, नगेन्द्र खड्का, भुवन सिंह भण्डारी, , चन्द्र प्रकाश ओली, बसन्ता भण्डारी, शारदा शाह, पशुपती कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता,दिपेश शाह र मनसिंह साउद रहेका छन् ।

नवनिर्वाचित नेतृत्वले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न होटल तथा पर्यटन क्षेत्रको निजी क्षेत्रीय नेतृत्वलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *