काठमाडौं — गत भदौ १० गते नियमित काममै व्यस्त थिएँ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हेर्नसमेत समय मिलेको थिएन । केही समय फुर्सद भएपछि सामाजिक सञ्जाल हेर्दा नेपालमा आएको भीषण बाढीको खबर देखेँ । सुरुमा त पत्याउनै गाह्रो भयो । लगातार नयाँ–नयाँ भिडियो र तस्बिरहरू सार्वजनिक हुन थालेपछि मनमा अनेक प्रश्न उठ्न थाले—कतै यी दृश्यहरू फेक त होइनन् ।
जीवनमा त्यस्तो भीषण बाढी न देखेको थिएँ, न त त्यस्ता दृश्यको कल्पना नै गरेको थिएँ । तर बाढीले बस्तीका बस्ती बगाएको खबर विस्तारै आउन थालेपछि मन झनै बेचैन हुन थाल्यो ।
त्यो बाढी आएको क्षेत्र मेरो जन्मभूमि मात्र थिएन, मेरो बाल्यकाल बितेको ठाउँ पनि थियो । आफू हुर्केको, खेलेको ठाउँ, साथीभाइ, आफन्त र परिचित अनुहारहरू एकपछि अर्को गर्दै सम्झनामा आउन थाले । सामाजिक सञ्जालमा बस्तीहरू बगरमा परिणत भएका तस्बिर र भिडियोहरू देखिन थालेपछि मनमा बेचैनी झनै बढ्दै गयो ।
‘यस्तो अवस्थामा म नेपाल जानुपर्छ । आफ्नो क्षमता र दक्षताअनुसार पीडितका लागि केही गर्नुपर्छ । अन्ततः यही सोचले नेपाल जाने निर्णय गरे बाढी गएको ४ दिन पछी नेपाल आए ।
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–६ श्रमथलीमा जन्मिनुभएका रेशम कुमार डंगोल विगत १६ वर्षदेखि जापानमा बस्दै आउनुभएको छ । नेपालदेखि जापानसम्म व्यवसायिक यात्रा निर्माण गर्नुभएका उहाँका लागि यसपटकको नेपाल यात्रा व्यवसाय वा व्यक्तिगत कामका लागि थिएन। आफ्नै जिल्लाका बाढीपीडित नागरिकको दुःखमा साथ दिन उहाँ नेपाल आउनुभएको हो।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले डगोलको सेभन समुराई इन्टरनेशनल र सुजुकी युनाइटेड एफसीको संयुक्त आयोजनामा राहत संकलन अभियान सञ्चालन गरे । अभियानमा नेपाली जनसम्पर्क समिति जापानले ३ लाख २५ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको थियो । त्यसबाहेक विभिन्न व्यक्ति तथा संस्थाको सहकार्यमा पनि रकम संकलन गरिएको थियो ।
संकलित रकममा आफ्नो कम्पनी तथा व्यक्तिगत तर्फबाट करिब ५ लाख रुपैयाँ थप गरी बाढी तथा विपद्का कारण ज्यान गुमाएका १ सय ५० परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरका साथै साडेछोलिङ विहारमा रहेका २ सय ४ मृतकका परिवारलाई एक मुष्ट कुल २ लाख ४ हजार रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।
राहतस्वरूप नौकुण्ड गाउँपालिकाका ६३ परिवार , उत्तरगया गाउँपालिकाका ४२ परिवार र गोसाइँकुण्ड गाउँपालिकाका ३४ परिवार सहित साडेछोलिङ विहारमा रहेका हस्तान्तरण गरिएको हो ।
‘अहिले केही समयका लागि दैनिक जीवन सहज होस् भनेर नगद सहयोग गरेका हौँ,’ डंगोल भन्नुहुन्छ, ‘तर बाढीका कारण धेरै परिवारले कमाउने मुख्य सदस्य गुमाएका छन्। अब ती परिवार कसरी चल्ने भन्ने विषयमा गम्भीर रूपमा सोच्न आवश्यक छ।’
बाढी तथा पहिरोका कारण कतिपय परिवारले अभिभावक गुमाएका छन्। बालबालिका अभिभावकविहीन भएका छन्। उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्यका विषयमा पनि दीर्घकालीन योजना बनाएर सहयोग गर्नुपर्ने आवश्यकता रहेको डंगोलको भनाइ छ।
उहाँका अनुसार तत्कालीन राहतसँगै अबको प्राथमिकता पीडित परिवारको दीर्घकालीन पुनःस्थापना, जीविकोपार्जन र बालबालिकाको शिक्षामा सहयोग र्पुयाउनु हो।
विदेशमा रहेर व्यवसायिक जीवन बिताइरहेका डंगोलका लागि बाढीपीडितलाई गरिएको यो सहयोग केवल आर्थिक सहायता मात्र होइन, जन्मभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताए ।
‘विदेशमा भए पनि मन सधैँ नेपालमै हुन्छ। आफ्नै ठाउँका मानिस दुःखमा परेका बेला सकेको सहयोग गर्नु आफ्नो दायित्व सम्झिएको छु,’ उहाँले भन्नुभयो।
भोटेकोशी बाढीले ठूलो जनधनको क्षति र्पुयाएको अवस्थामा प्रारम्भिक राहतसँगै अब दीर्घकालीन पुनःस्थापनाको आवश्यकता देखिएको छ। पीडित परिवारलाई तत्कालको राहतसँगै रोजगारी, आयआर्जन, आवास तथा बालबालिकाको शिक्षाका लागि राज्य, स्थानीय तह, निजी क्षेत्र र प्रवासी नेपालीको निरन्तर सहकार्य आवश्यक देखिन्छ।