खोज्नुहोस

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाओस्- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्री बालेनले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामनासमेत व्यक्त गरेका हुन्।

‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको थियो र  यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गर्नुभएको थियो। बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास छ। सोही विश्वासमा आज दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्नुहुन्छ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन छ। यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्नुहुन्छ।’

कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज दिनभर भाइटीका लगाउन कुनै समस्या छैन। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनीले पूर्व  फर्केर टीका लगाइदिने र दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

 

Single Image

Leave a Reply

Your email address will not be published. Required fields are marked *