काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा र डिजिटल कर सेवा प्रवर्द्धन गर्ने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ ।
‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित सुरु भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।
आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा करदाता सम्मानसँगै प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया र करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । विभागअन्तर्गतका कार्यालयले आ–आफ्नो क्षेत्रका तीन–तीन जना करदातालाई समेत सम्मान गर्नेछन् ।
साताव्यापी कार्यक्रमअन्तर्गत करको दायरा विस्तार, करसम्बन्धी योजना कार्यान्वयन, डिजिटल सेवा प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि प्रचारप्रसार गरिनेछ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कर सचेतनामूलक सूचना पाटीसमेत राखिनेछ ।
त्यस्तै, शैक्षिक परामर्श तथा वैदेशिक रोजगारीसम्बन्धी कम्पनीलाई लक्षित कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तहका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षण दिइनेछ ।
सरकारले कर प्रशासनलाई पारदर्शी, सरल, भ्रष्टाचारमुक्त र प्रविधिमैत्री बनाउँदै करको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभूति गर्ने वातावरण निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।
