खोज्नुहोस

यार्सागुम्बा टिप्न हिमालतिर लागेपछि गाउँ सुनसान, विद्यालय बन्द

 

 

 

 

देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो जस्तै देखिन्छ। हिउँ पग्लिएर खालि भएका नागी पाटनहरूमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो। गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन्। यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्वपूर्ण पक्ष हो। मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो। पश्चिम उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरू जेठको दोश्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा किरा कोर्न जाने गर्दछन् । उच्च हिमाली क्षेत्रका पाटनहरूमा पाईने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ। साना साना बालबालिकाहरूले पनि यसलाई यही ढंगले बुझ्ने गरेका छन्। सबै किरा कोर्न गएका कारण विद्यालय बन्द भएका छन् भने गाउँ रित्तो भएका छन्। त्यस क्षेत्रमा मुख्य आय आर्जनको स्रोत नै यार्सागुम्बाको बिक्रि  हो। सिजनमा सबै यार्साटिप्न जान्छन्। लगभग एक महिनाको समय गाउँ नै सुनसान हुन्छ। मुगु कार्मारोङ गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई मांग्रीमा सामाजिक परिचालकको रुपमा काम गर्दै आएका ठिल्ले लामाले गाउँमा साना नानी भएका महिला,

 

बालबालिका र वृद्धवृद्धा मात्रै गाउँमा रहेको बताए। उनी भन्छन्, ‘यहाँको मुख्य आम्दानी भनेको यार्सागुम्बा हो। १०/१२ देखि ५०/६० वर्ष सम्ममा मान्छेहरू हिँडिसक्यो यार्सा टिप्नका लागि। ठ्याक्कै एकमहिना गाउँ सुनसान हुन्छ। असार १३ गते पछि गाउँ फर्कन्छन्। एकमहिना पछि टिप्न पाउँदैनन्। विद्यालयहरू अहिले बन्द छन्। विद्यालय शिक्षामा अझै पनि कसैले चासो दिएको देखिँदैन। विद्यार्थीहरू कम भर्ना हुने। भर्ना भईहाले पनि पछि निकालेर लैजाने हुन्छ। खानेपानीको पनि समस्या छ गाउँमा।’

सानो बच्चा भएका स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामा गाउँमा नै भेटिइन्। उनी भन्छिन्,‘पुरुषहरू त सबै गए। अहिले गाउँमा सानो सानो बच्चाको आमाहरू होलान्। कर्मचारीहरू होलान्। गाउँका आधाजसो घरमा ताल्चा लागेको छ। परिवारै यार्सागुम्बा टिप्न गएका छन्। आयआर्जनको स्रोत यार्सागुम्बा र ज्यालामजदुरी हो। ’
यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाईने ढुसीको एक प्रजाति हो। बहुमूल्य जडिबुटीको रुपमा प्रयोग हुँदै आएको यार्सागुम्बा निर्यातबाट ठूलो आम्दानी हुने गर्दछ। सिजनमा ९ वर्ष भन्दा माथि ६० वर्ष उमेर सम्मका मानिसहरू यार्सा टिप्न जाने गर्दछन्। मुख्य आयआर्जनको स्रोत नै यार्सा भएकाले मुगुका अधिकांश गाउँहरू अहिले सुनसान प्राय छन्। मांग्री पनि सुनसान छ। गाउँका आधाआधी घरमा ताला लागेको छ। सानासाना बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन्छन्।
मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन्। गाउँमा महिला र साना बालबालिका मात्रै छन्। एकाध विद्यालय सञ्चालनमा छन् तर विद्यार्थी छैनन्। सञ्चालनमा रहेका विद्यालयमा पनि ९ वर्ष मुनिका बालबालिकाहरू मात्रै भेटिन्छन्।
यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो। १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका अधिकांश विद्यालय बन्द छन् भने गाउँहरू पनि सुनसान हुन थालेका छन्। एकाध सञ्चालनमा आएका विद्यालयमा पनि प्राथमिक तहका विद्यार्थी मात्रै आउने गरेको पाइन्छ।
औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीन पछि नेपाल दोस्रो मुलुक हो। यसको प्रमुख बजार चीन हो। यकिन तथ्यांक नभएपनि पूर्वी नेपालको अलैँची सरह नै पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ। नेपाल राष्ट्र बैंकले २०७२ मा गरेको अध्ययनले पनि हिमाली र उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान हुन यार्सागुम्बाले सहयोग गरेको उल्लेख छ। सो अध्ययनमा आर्थिक वर्ष २०७०/२०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो। यार्सागुम्बा संकलनका लागि मुख्य केन्द्रका रुपमा रहेका दार्चुला, डोल्पा, जुम्ला, बझाङ र मनाङमा अध्ययन केन्द्रित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *