
लाल बहादुर जिसी
कनकासुन्दरी–४, धोविघाट, सिंजा, जुम्ला
नेपालको लोकतान्त्रिक आन्दोलन, शिक्षा विकास तथा सामाजिक रूपान्तरणका क्षेत्रमा कर्णालीका अग्रणी व्यक्तित्वका रूपमा स्वर्गीय लाल हमालको नाम सम्मानका साथ स्मरण गरिन्छ। पाँच दशकभन्दा बढी समय लोकतन्त्र, सामाजिक सेवा र नेपाली कांग्रेसको आदर्शप्रति अविचलित रही योगदान पुर्याउनुभएका हमाल कर्णाली क्षेत्रका प्रजातान्त्रिक आन्दोलनका एक सशक्त हस्ती हुनुहुन्थ्यो।
वि.सं. १९९३ साल बैशाख ७ गते तत्कालीन जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ सिम्पाटीमा जन्मनुभएका लाल हमालका पिता हरिप्रसाद उपाध्याय पण्डित र माता झुपा शाही हुनुहुन्थ्यो। सामान्य ग्रामीण परिवेशमा हुर्किनुभएका हमालले शिक्षा क्षेत्रबाट आफ्नो सार्वजनिक जीवन प्रारम्भ गर्नुभएको थियो। उहाँले कक्षा १० सम्म अध्ययन गरी नर्मल शिक्षक तालिम पूरा गर्नुभयो।
शिक्षक तालिमपछि २०१६ सालदेखि २०२८ सालसम्म शिक्षण पेशामा सक्रिय रहनुभयो। शिक्षणकालमा उहाँले सिंजा क्षेत्रका विभिन्न गाउँमा गुरुकुल शिक्षा पद्धतिअनुसार युवापुस्तालाई शिक्षा प्रदान गर्नुभयो। शिक्षा विस्तारको अभियानमा उहाँले सिंजा दरामा विद्यालय स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। वर्तमान कनकासुन्दरी माध्यमिक विद्यालय (तत्कालीन प्राथमिक विद्यालय) का संस्थापक तथा प्रधानाध्यापकका रूपमा उहाँले शिक्षा र सामाजिक नेतृत्वको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभयो। त्यसपछि बाजुरा जिल्लाका बर्कु र जुकोट क्षेत्रका विद्यालयमा प्रधानाध्यापक भई स्थानीय शैक्षिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुभयो।
राजनीतिक चेतनाको बीजारोपण उहाँमा प्रारम्भिक कालमै भएको थियो। २०१२ सालमा पहिलो पटक काठमाडौं आउँदा उहाँले राजनीतिक गतिविधिबारे जानकारी प्राप्त गर्नुभयो। पञ्चायती व्यवस्थाको सुरुआती चरणदेखि नै सामन्ती प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै लोकतान्त्रिक विचारप्रति आकर्षित हुनुभयो। २०२६ सालमा स्वर्गीय कृष्णप्रसाद भट्टराईको पत्रमार्फत भारतको बनारसमा जननायक विश्वेश्वरप्रसाद कोइरालासँग पहिलो भेट भएपछि उहाँको नेपाली कांग्रेससँगको राजनीतिक सम्बन्ध औपचारिक रूपमा प्रारम्भ भयो।
२०२८ सालमा शिक्षण पेशाबाट अलग भई उहाँ पूर्णकालीन सामाजिक तथा राजनीतिक अभियानमा लाग्नुभयो। पञ्चायती व्यवस्थाको समयमा पनि लोकतान्त्रिक विचारधाराको प्रतिनिधित्व गर्दै युवक संगठन, कृषक संगठन, विराट पञ्चायतका प्रधानपञ्च तथा जुम्ला जिल्ला पञ्चायत सदस्यमा निर्वाचित हुनुभयो। निर्वाचित पदमा रहँदा समेत लोकतान्त्रिक गतिविधि जारी राखेकै कारण उहाँ निलम्बनमा समेत पर्नुभयो।
वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछि हमाल नेपाली कांग्रेसका गतिविधिमा झनै सक्रिय हुनुभयो। २०३७ सालको जनमत संग्रहमा उहाँले कर्णालीका गाउँगाउँमा पुगेर बहुदलीय व्यवस्थाको पक्षमा व्यापक प्रचारप्रसार गर्नुभयो। २०४२ सालको सत्याग्रह आन्दोलनमा पनि उहाँ अग्रपङ्क्तिमा रहनुभयो।
लोकतन्त्रका लागि संघर्षकै क्रममा २०३० देखि २०४५ सालसम्म उहाँ पटक–पटक गिरफ्तार हुनुभयो र करिब एक वर्ष जेल जीवन व्यतीत गर्नुभयो। २०४६ सालको ऐतिहासिक जनआन्दोलनअघि चाक्सीबारी सम्मेलनमा जुम्लाको नेतृत्व गर्दै सहभागी हुनुभएका उहाँ फागुन १४ गते नेपालगञ्जबाट पैदल यात्रा गर्दै जुम्ला पुग्नुभयो। आन्दोलनको नेतृत्व गर्दै कालो झण्डा प्रदर्शन गरेपछि उहाँ पुनः गिरफ्तार हुनुभयो। बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मात्र उहाँ जेलमुक्त हुनुभएको थियो।
जनआन्दोलनपछि २०४९ सालसम्म उहाँ नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिका रूपमा कार्यरत रहनुभयो। पार्टीले उहाँको योगदानको कदर गर्दै २०५१ सालको प्रतिनिधिसभा मध्यावधि निर्वाचनमा उम्मेदवार बनायो। यद्यपि पार्टीभित्रको अन्तरघात तथा बागी उम्मेदवारका कारण उहाँ पराजित हुनुभयो। २०५६ सालमा राष्ट्रिय सभाको उम्मेदवार तथा २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारका रूपमा उहाँको नाम सिफारिस गरिएको थियो।
नेपाली कांग्रेसको संगठन विस्तार र सुदृढीकरणका लागि उहाँले भेरी–कर्णाली क्षेत्रका विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिका रूपमा अनुगमन, प्रशिक्षण र प्रचारप्रसारको जिम्मेवारी निर्वाह गर्नुभयो। उहाँले अञ्चल संयोजक, आमन्त्रित केन्द्रीय सदस्य, वरिष्ठ राजनीतिक सल्लाहकार समिति सदस्य तथा प्रजातान्त्रिक सेनानी संघका विभिन्न जिम्मेवारीमा रहेर पार्टी र लोकतान्त्रिक आन्दोलनलाई योगदान पुर्याउनुभयो।
स्वर्गीय हमाल केवल राजनीतिज्ञ मात्र नभई अध्ययनशील व्यक्तित्व पनि हुनुहुन्थ्यो। पुस्तक अध्ययन र संग्रह उहाँको विशेष रुचिको विषय थियो। पञ्चायतकालभरि दुर्गम गाउँहरूमा पुस्तक तथा पत्रपत्रिका पुर्याई राजनीतिक चेतना विस्तार गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो। आजीवन सन्तनेता कृष्णप्रसाद भट्टराईका अनुयायी रहनुभएका उहाँ सादगी, नैतिकता, सत्यनिष्ठा र अहिंसात्मक राजनीतिक संस्कृतिका पक्षधर सच्चा गान्धीवादी नेता हुनुहुन्थ्यो।
उहाँका परिवारमा दुई छोरा, तीन छोरी, दुई भाइ र एक बहिनी हुनुहुन्छ। नेपाली कांग्रेसको जुम्ला तथा कर्णाली क्षेत्रमा संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनको जग बसाल्न उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ। उहाँलाई कर्णालीमा नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एकका रूपमा सम्मान गरिन्छ।
लोकतन्त्र, शिक्षा र समाजसेवामा जीवन समर्पण गर्नुभएका स्वर्गीय लाल हमालको निधन वि.सं. २०८३ जेठ ३१ गते आइतबार बिहान ९ बजे भक्तपुरको लोकन्थलीस्थित निजी निवासमा भएको थियो। उहाँको निधनले नेपाली कांग्रेस, कर्णाली क्षेत्र र लोकतान्त्रिक आन्दोलनले एक अनुभवी अभिभावक, संघर्षशील योद्धा तथा नैतिक राजनीतिक संस्कृतिका संवाहक गुमाएको छ।
स्वर्गीय लाल हमालका आदर्श, संघर्ष र योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहनेछन्।
(जिसि नेपाली काङ्ग्रेस युवा नेता हुनुहुन्छ)