खोज्नुहोस

विश्व सम्पदा क्षेत्र चाँगुनारायणमा ‘सय धिमे–सय बाजा’ को बृहत् सांस्कृतिक प्रस्तुति

भक्तपुर। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर परिसरमा ‘सय धिमे–सय बाजा’ सहितको बृहत् सामूहिक धिमे तथा बाजा प्रस्तुति सम्पन्न भएको छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालय, गुठी तथा स्थानीय समुदायका कलाकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले धिमे बाजा, परम्परागत झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै नेवार समुदायको मौलिक कला, संस्कृति र सांगीतिक परम्परालाई जीवन्त रूपमा प्रदर्शन गरेका थिए।

आयोजकका अनुसार विश्व सम्पदा क्षेत्र भए पनि चाँगुनारायणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित रूपमा प्रचार–प्रसार हुन नसकेको अवस्थामा यस कार्यक्रममार्फत चाँगुनारायणको पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचार–प्रसारमा टेवा पुर्‍याउने उद्देश्य राखिएको हो। साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र सम्पदासँग जोड्ने प्रयास पनि कार्यक्रमको प्रमुख उद्देश्य रहेको जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ ले प्रदेशको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सांस्कृतिक पर्यटन विकाससँगै स्थानीय पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी ले नेपालको सांस्कृतिक विविधता र परम्परागत कला–संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता सामूहिक सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, वडा नं. ४ का अध्यक्ष रोज बा तामाङ तथा वडा नं. ७ का अध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ ले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले चाँगुनारायणको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्दै स्थानीय संस्कृति संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

विश्व सम्पदा क्षेत्र चाँगुनारायणमा आयोजित उक्त कार्यक्रमले स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटक र संस्कृति प्रेमीहरूको उल्लेखनीय उपस्थिति आकर्षित गरेको थियो। सहभागी कलाकारहरूको सामूहिक धिमे वादन, परम्परागत झाँकी तथा सांस्कृतिक नृत्यले चाँगुनारायण परिसरलाई उत्सवमय बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *