बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ। गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उहाँ सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो। लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उहाँ पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उहाँ करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए।

रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिब ४७ वर्षपछि भौतिक संरचना तालभन्दा बाहिर सार्न थालिएको छ । २०३२ सालदेखि रारा ताल परिसरमा निर्माण गरिएका संरचना माथिल्लो मिलिचौर सार्न थालिएको हो । यो वर्ष झन्डै ५९ लाख रुपैयाँ बजेटमा मिलिचौरमा निकुञ्जको कार्यालय सुरु गरिएको छ । निकुञ्ज विभागको परिपत्रअनुसार निकुञ्ज कार्यालयसहित नेपाली सेनाको ब्यारेक, होटललगायत संरचना ५ वर्षभित्र बाहिर सारिसक्ने निकुञ्जका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले बताए । ‘रारा तालको प्राकृतिक सुन्दरता बचाउन र पर्यटक आगमनमा वृद्धि गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अब ताल नजिकै कुनै पनि निकायले भौतिक संरचना निर्माण गर्न पाउने छैन ।’

जुम्लाको गुठिचौर गाउँपालिकामा बालबालिकाका सवाल सम्बोधन गर्न पञ्चवर्षीय रणनीतिक योजना बनाएको छ। दुई दिने कार्यशाला गोष्ठी मार्फत गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना बनाएको हो । पालिकाले सूचकहरुबारे अनुगमन गरिसकेपछि जिल्ला समन्वय समितिलाई अनुगमन गर्न पत्र पठाउने र सम्पूर्ण सरोकारवाला, निकाय र पालिकास्तरका साझेदार संघसंस्थासमेतलाई कामको जिम्मेवारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न सकेमात्र देश विकासको आधार निर्माण हुने भन्दै पालिकाभित्रका बालबालिकाको अधिकार सुनिश्चित गर्न अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, संचारकर्मी, संघसंस्थाका प्रतिनिधि, आम नागरिक सबै सचेत भएर अघि बढ्नुपर्ने बताए ।

जुम्लाको त्रीवेणी–टोप्ला खण्डमा ट्रयाक खुलेको एक दशक पछि स्तरउन्नती गर्न सुरु गरिएको छ । कर्णालीका चार जिल्ला छुने चौरजहारी–रारा राजमार्गको त्रीवेणी टोप्ला खण्ड ग्रावेल गर्न सुरु गरिएको हो । त्रीवेणी–टोप्ला खण्डमा नालि सहित १० मिटर चौडा सडक विस्तारको काम सुरु भएको छ । जुम्लाको तिला ४ त्रीवेणीबाट तातोपानी ७ सर्मी सम्मको सडक विस्तार गर्ने गरि काम सुरु गरिएको सडक डिभिजन जुम्लाका इन्जिनियर विरेन्द्र रावलले बताए । ३ करोड ६८ लाख ३२ हजार ७ सय ८३ रुपैंया ५० पैंसा लागतमा १० मिटर सडक चौडा, नालि तथा ग्रावेलको काम धमाधम भइरहेको इन्जिनियर रावलले जानकारी दिए ।