जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् । चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको 'इगल राप्टोर' लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो। दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बुटवल । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रीत भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान शुरु गरेको बताएको छ ।
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नाबाट हराएका १० वर्षीय बालक चनोज चौधरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन् । बालक असार १० गते साँझ करिब ५ बजे घरबाट एक्कासी हराएका थिए । परिवारले असार ११ गते प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु गरिएको थियो । असार १२ गते दिउँसो करिब ३ बजे संयुक्त प्रहरी टोली र आफन्तले खोजतलास गर्ने क्रममा धनगढी-१७ स्थित कालिका सामुदायिक वनमा बालकको शव फेला पारेको हो । घटनाबारे सोधपुछका लागि चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठगी र आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार हात्तीगौंडास्थित टुङ्गराम इन्टरनेसनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार हिनामिना गरी व्यक्तिगत लाभ लिएको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ । विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा उनले विभिन्न प्रक्रिया दुरुपयोग गर्दै विद्यालयलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ । अनुसन्धानका क्रममा विद्यालयलाई हानि पुर्याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा आफ्नै स्वामित्वसँग सम्बन्धित कम्पनीको नाममा बिक्री गरिएको खुलेको सीआईबीले…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन् । महामन्त्री पदमा आचार्यसहित मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो । महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै रास्वपाको महिला तर्फको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् ।