काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितको टोलीले भेटवार्ता गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको विषयमा छलफल भएको थियो । सभापति थापाले सो अवसरमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए । सो भेटमा सभापति थापासहित काँग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए भने सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी थिए ।
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटना जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए । त्यस्तै आज बसेको बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्यालको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
काठमाडौँ । धनुषा- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश अस्वीकार भएसँगै धनुषा-१ बाट नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवको जित कायम भएको छ । निर्वाचन आयोगले यसअघि नै यादवलाई विजयी घोषित गरि प्रमाणपत्र समेत दिइसकेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेको हुँदा निर्वाचन आयोगले फागुन १८ गते…
काठमाडौँ । ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना भएको देखेमा तत्काल हटलाइनहरुमा सम्पर्क गरेर जानकारी गराउन हुन काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । महानगरले आफ्ना हटलाइन ९८५१३५६५०९ र ११८० मा सम्पर्क गरेर जानकारी दिन आग्रह गरेको हो । महानगरले काठमाडौँआमा ग्यास र इन्धनको अभाव सिर्जना गरेको विषयमा निगरानी शुरु गरेको जनाएको छ । आयल निगमले भारतबाट नियमित आउने ग्यास र इन्धन आएपनि अभाव सिर्जना गरिएको भन्दै गत शुक्रबारबाट ग्यासको आधा सिलिण्डर बिक्रि गर्ने निर्णय गरेको छ ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगका अनुसार झण्डा वा चुनाव चिह्न बोकाउने, र्याली, सांस्कृतिक कार्यक्रम तथा दल-विशेषको समर्थन वा विरोधमा बालबालिकालाई सहभागी गराउने, विद्यालय समयमा विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गरी अध्ययनमा अवरोध पुर्याउने विषयमा उजुरी प्राप्त भएका छन् । नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सर्वाङ्गीण विकासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै आयोगले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग कानुनविपरीत हुने जनाएको छ । साथै निर्वाचन आचारसंहिता, २०८२ अनुसार प्रचारप्रसार, आमसभा र जुलुसमा बालबालिका…