काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन उग्र बन्ने देखिएको छ । उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा नाराबाजी शुरु गरेका छन् । यसैक्रममा प्रदर्शनकारीहरुले नेताहरुको घरलाई निशाना बनाएका छन् । प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसबाट मन्त्री बनेका अधिकारीले जेनजीले गरेको सोमबारको प्रदर्शनमा भएको दमनप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका छन् । राजीनामाको घोषणा गर्दै उनले भनेका छन्- आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल ! म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति २०८१ असार ३१ गतेबाट नेपाल सरकारको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको रूपमा ईमानदारीपूर्वक पूर्ण क्षमताका साथ आमजनता र किसान दाजुभाइ तथा दिदीबहिनीहरुको हितमा समर्पित हुन पाएकोमा सन्तोषका साथ यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मैले प्रतिनिधित्व गर्ने नेपाली…
काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ। सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् । कोइराला निकट नेता डा गोविन्द राज पोखरेलका अनुसार चार मन्त्रीलाई राजीनामाको लागि अनुरोध गरेको र अहिले मन्त्रीहरु छलफलमा रहेका छन् । उनले भनेका छन्- 'डा. शेखर कोइरालाले नजिकका मन्त्रीहरूलाई राजीनामा दिन अनुरोध गरेका छन। चारजना मन्त्रीहरू छलफलमा छन भन्ने कुरा एक जना मन्त्रीले जानकारी दिनुभयो ।
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ नगरपालिकाभित्र आवात जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा,बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म भक्तपुरका मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।