काठमाडौँ । काठमाडौँको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ। सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा १४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको जनाएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफु निकट मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् । कोइराला निकट नेता डा गोविन्द राज पोखरेलका अनुसार चार मन्त्रीलाई राजीनामाको लागि अनुरोध गरेको र अहिले मन्त्रीहरु छलफलमा रहेका छन् । उनले भनेका छन्- 'डा. शेखर कोइरालाले नजिकका मन्त्रीहरूलाई राजीनामा दिन अनुरोध गरेका छन। चारजना मन्त्रीहरू छलफलमा छन भन्ने कुरा एक जना मन्त्रीले जानकारी दिनुभयो ।
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ नगरपालिकाभित्र आवात जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा,बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म भक्तपुरका मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यवाहक सभापति डिपी अर्यालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका हुन् । बैठक दिनको १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्ने र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
काठमाडौँ । सोमबार जेनजीको आन्दोलनमा भएको घटनापछि विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले सरकारको राजीनामा मागेका छन् भने सत्तारुढ दल नेपाली कांग्रेसका कैयौं नेताहरुले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । गएराती बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले इतिहासकै कलंकको रुपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । त्यसैगरी रास्वपाले सोमबारको घटनापछि वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । साथै रास्वपाले घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग…