काठमाडौँ । नेपाली सेनाले महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको जानकारी दिएको छ । नेपाली सेनाले डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार पाँचसय २५ सय डलर बरामद गरिएको जनाएको छ । सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ । त्यस्तै नेपाली सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिईएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको जनाएको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुचना प्रकाशित गर्दै देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण उपत्यका भित्र विषम परिस्थितिले विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवा लगायतले विमानको सुरक्षामा गम्भीर असरपर्न सक्ने भएकाले अर्को सुचना नभएसम्म विमानस्थल बन्द रहने जानकारी गराएको छ ।
वीरगन्ज । वीरगन्ज कारागारको अवस्था तनावग्रस्त बनेको छ । कैदीहरु कारागार भित्र तोडफोड र पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मी झडप भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कैदीलाई रोक्न कैयौं राउण्ड फायर समेत र अश्रु ग्यास प्रहार गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार मंगलबार राति देखिनै कैदीहरुले भाग्ने प्रयास गरेको र बुधबार बिहानदेखि अवस्था तनावग्रस्त बनेको छ । कारागारमा महिला र पुरुष गरी १३ सयभन्दा बढी कैदीबन्दी रहेको बताइएको छ ।
काठमाडौँ । सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएपछि विस्तारै परिस्थिति सहज बन्दैछ । यसैबीच देशको विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको छ । गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो । त्यस्तै जेनजीका प्रतिनिधि, नेपाली सेना र राष्ट्रपतिबीच नयाँ राजनीतिक अध्यायको विषयमा छलफलको तयारी भएको बताइएको छ ।
काठमाडौँ । नेपाली सेनाले आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै जेनजी नेतृत्वको आन्दोलनका क्रम सुरक्षाकर्मीहरुबाट लुटिएका, फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको छ । साथै सेनाले संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्न समेत आग्रह गरेको छ । साथै नेपाली सेनाले हातहतियार र गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ । सेनाको अनुरोध: 'जेनजी' नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका / फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र…