काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । देउवादम्पतिको बुढानिलकण्ठस्थित निवासबाट आन्दोलनकारीले कुटपिट गर्दै निकालेको देखिएको छ । देउवा रगताम्य रहेका छन् भने आरजुलाई पनि लछारपछार गरेको सार्बजनिक भिडियोमा देखिएको छ । अहिलेसम्म उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन नसकेको बताइएको छ । उनीहरुको अहिलेको पछिल्लो अवस्था थाहा हुन सकेको छैन ।
काठमाडौं । सुरक्षा निकायका प्रमुख र मुख्यसचिवले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले संयमित हुन आग्रह गरेका छन् । मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्रका आईजीपी राजु अर्याल, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले अपिल जारी गर्दै राजनीतिक संवादको माध्यमबाट समाधान निकाल्न आग्रह गरेका हुन। अपिलमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौँ। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ ।’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चाल गर्न तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौँ । राप्रपाका सबै सांसदले राजीनामा दिएका छन् । जेनजी आन्दोलनपछि विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको भन्दै राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले सामुहिक राजिनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनले भनेका छन्- देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुले सामुहिक राजिनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ । आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपील गर्दछ ।
काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा रहेको संसद भवनमा आगजनी भएको छ । हजारौँको संख्यामा आन्दोलनकारी संसद भवन प्रवेश गरेर आगजनी गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड भएको हो । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री…